×

सहकारी ठगी प्रकरण- लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्व मुद्दा दायर

images

विराटनगर । सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्व मुद्दा दायर भएको छ । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको हो । 

बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार उनीहरूलाई प्रतिवादी बनाइएको छ ।

सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८मा राजीनामा दिएकी थिइन् ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

शुक्रबार​ २८ मंसिर २०८१ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया