×

वालुङ समुदायले फुटुक पर्व मनाए

images


फुङ्लिङ (ताप्लेजुङ), २७ कात्तिक : ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङ्गोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । कृष्णपक्षको द्वितीयादेखि सुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ । 

    यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङ्गोलाका वालुङ समुदायले मात्र मनाइँदै आएका छन् । पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टाँसी शेर्पाले बताउनुभयो । उहाँका अनुसार बेल्जियमबाट पाँच जना नागरिक आएका थिए ।

    “अघिल्लो वर्षमा एक जना आउनुभएको थियो । उहाँलाई यो पर्व मन परेपछि यस वर्ष साथीहरु पनि लिएर आउनुभएको हो”, शेर्पाले भन्नुभयो । उहाँका अनुसार पर्व अवलोकनका लागि याङ्मा, घुन्सा, लुङ्थुङ, लेलेप, सेकाथुमलगायत बस्तीबाट स्थानीयको उपस्थिति थियो ।

    फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष विकास साम्रा, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकवीर हाङ लिम्बूलगायतको टोली फुटुक पर्व मनाउन ओलाङ्चुङ्गोला पुगेको थियो ।

    पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्नुका साथै देव नृत्यसमेत देखाउने गरिन्छ । चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने प्रचलन रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार घ्यू र तेल लगाइ आगो बालेर आगोको रापलाई गुम्बाको धुरी कटाउँदै आज फुटुक पर्वको समापन गरिन्छ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिको विश्वास छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।

    लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्धको अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने प्रचलन रहेको स्थानीयको भनाइ थियो । गाउँलेले रकम जुटाएर मनाइँदै आइएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।
    
    फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ । ओलाङचुङ्गोलामा करिब चार सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आइएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

    चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङ्गोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्दछ । ऐतिहासिक महत्व भएकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको भन्दै गाउँपालिकाका अध्यक्ष लिम्बूले पालिकाले यसका लागि आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस गाउँमा ५५ घरधुरी छन् । यो गाउँ सदरमुकामबाट सवारीसाधन र हिँडेर गरी एक दिनमा पुगिन्छ ।
---

सोमबार २७ कात्तिक २०८० ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया