×

फुल्चोकी क्षेत्र : साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै

images


काभ्रेपलाञ्चोक, २७ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गर्नुभएपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भए । 

मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी गरेको थियो ।
 
फुल्चोकीमा मन्त्री किराँतीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिनुभएको थियो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । फुल्चोकी एड्भेन्चर प्रालिका अध्यक्ष छविलाल हुमागाईका अनुसार “प्राधिकरणले अनुमति दिए पनि करिव एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालनको तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । 
    
मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल–पर्यटन ‘हव’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघिनै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । 
    
पटकपटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागाईले दैनिक १० प्याराग्लाइडिङले विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिनुभयो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । 

प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी–विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । 

सोमबार २७ कात्तिक २०८० ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया