×

लुम्बिनी प्रदेशः आन्तरिक किचलोले दुवै गठबन्धनमा पिरलो

images

काठमाडौं । लुम्बिनी प्रदेशका ११ जिल्लाबाट प्रतिनिधिसभामा २६ जनाको प्रतिनिधित्व हुन्छ। २६ वटा निर्वाचन क्षेत्रमा मुख्य रूपमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिस्पर्धामा छन्।

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पालिकाका वडाध्यक्षहरूले पाएको मत र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको छ।

कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्राप्त गरेको मत र एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको मतलाई पनि राखेर यो विश्लेषण गरिएको हो।

स्थानीय तह चुनावमा दलहरूले प्राप्त गरेको मतलाई आधार बनाउँदा भने लुम्बिनी प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा विपक्षी गठबन्धन र १४ वटा क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ। लुम्बिनीलाई एमालेको प्रभाव क्षेत्रका रूपमा हेरिएको छ। एमाले आफ्नो यो प्रभावलाई मंसिरमा हुने निर्वाचनमा पनि कायमै राख्ने र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन त्यसलाई उल्ट्याउने रणनीतिमा छन्।

यो विश्लेषणमा सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको मत समावेश गरिएको छैन। विपक्षी गठबन्धनमा रहेको राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि लुम्बिनी प्रदेशका १९ निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिएको छ। बाँकी ६ क्षेत्रमा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ। यसलाई आधार बनाउने हो भने विपक्षी गठबन्धन लुम्बिनी प्रदेशमा अझ कमजोर देखिन्छ।

रूपन्देही र बाँकेमा मात्र विपक्षी गठबन्धनसँग मिलेर राप्रपाले उम्मेदवारी दिएको छ। बाँके २ मा धवलशमशेर राणालाई एमालेको सहयोगमा उम्मेदवार बनाएको राप्रपाले सो जिल्लामा पार्टीका अरू उम्मेदवार खडा गरेको छैन। बरु बाँके २ मा एमाले गठबन्धनमा रहेको जसपाका इस्तियाक राई प्रतिस्पर्धामा छन्।

त्यस्तै सत्ता गठबन्धनबाट कांग्रेसका सुदीपनरसिंह राणा उम्मेदवार छन्। रूपन्देही ३ मा एमालेको समर्थनमा राप्रपाका दीपक बहोरा उम्मेदवार छन्। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाण प्रतिस्पर्धामा छन्। राप्रपाले रूपन्देहीका अन्य क्षेत्रमा उम्मेदवारी दिएको छैन। नागरिक दैनिकबाट

आइतबार​ २७ कात्तिक २०७९ ०८:४४ AM मा प्रकाशित

प्रतिक्रिया