काठमाडौँ, २७ असोज २०८३- बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा घरेलु टोली ओमानलाई ११३ रनको विशाल अन्तरले पराजित गर्दै शानदार जित निकालेको छ । यस जितसँगै नेपालले शृङ्खलामा लगातार दोस्रो सफलता हात पारेको छ ।
नेपालको सुदृढ ब्याटिङ र रोहित-करणको चमक
ओमानको अल अमारात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल राष्ट्रिय क्रिकेट टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रनको बलियो योगफल खडा गरेको थियो।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ खेले। ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरहरूमा सातौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले विस्फोटक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे । उनले ४९ औँ ओभरमा ओमानका ब्याट्सम्यानलाई लगातार ३ छक्का प्रहार गर्दै नेपालको रन गति बढाएका थिए। ओपनिङमा अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र ईशान पाण्डेले समान ३७-३७ रनको योगदान दिए ।
नेपाली बलरहरूको घातक बलिङ, ओमान ध्वस्त
२ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको ओमान राष्ट्रिय क्रिकेट टोली नेपाली बलरहरूको कसिलो र घातक बलिङसामु निरिह बन्यो । घरेलु टोली ४० ओभरमा मात्र १ सय ५० रनमा अलआउट हुन पुग्यो ।
ओमानलाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका बलर नन्दन यादव र स्पिनर कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरे। नन्दनले ६ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट लिए भने सन्दीपले ९ ओभरमा २८ रन दिएर ३ विकेट चट्काए। त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र करण केसीले समान १-१ विकेट हात पारे ।
ओमानका लागि विनायक शुक्लाले ७७ रन र जय ओडेद्राले २५ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले नेपाली बलरहरू विरुद्ध दोहोरो अङ्कमा रन जोड्न सकेनन्। खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका करण केसी 'प्लेयर अफ द म्याच' घोषित भए । यो जितसँगै लिग-२ को अङ्कतालिकामा नेपालले आफ्नो बलियो उपस्थिति जनाएको छ ।
प्रतिक्रिया