×

एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ । 

साथै प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि भएको ज्वालाले जानकारी दिए  । 

त्यसैगरी बैठकले पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय गरेको छ । 

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने निर्णय गरेको ज्वालाले जानकारी दिएका छन् ।

 

सोमबार २७ असोज २०८२ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया