×

गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल

images

काठमाडौं– सत्तारुढ गठबन्धनले आसन्नत प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि गठबन्धनले चार सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिमा कांग्रेसबाट प्रकाश शरण महत,माओवादी केन्द्रबाट हितमान शाक्य,नेकपा एसबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।

बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने र प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।  केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यस्तै सत्ता गठबन्धनले निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो ।

बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ । यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।

कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।

भेलामा  गठबन्धनमा रहेका दलका केन्द्रीय समिति सदस्य, प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३/३ जना सहभागी गराउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।

बिहीबार २७ असोज २०७९ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया