×

बाढी-पहिरोको वितण्डा: देशका प्रमुख पाँच राजमार्ग पूर्ण रूपमा ठप्प, यात्रा गर्नुअघि बुझ्नुहोस् अवस्था

images

काठमाडौँ, भदौ २८ -अविरल मनसुनी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानका प्रमुख राजमार्ग र सडकखण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्। लगातारको प्राकृतिक विपत्तिका कारण राजधानी काठमाडौँ जोड्ने लाइफलाइन मानिएका राजमार्गदेखि हिमाली जिल्लाका पहुँच मार्गहरूमा यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी र सडक विभागको पछिल्लो प्रतिवेदन अनुसार हाल पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका मुख्य राजमार्गहरूको विवरण यस प्रकार छ:

पृथ्वी राजमार्ग (धादिङ)

त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो जग नै कटान गरेपछि धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको थाक्रे गाउँपालिका–२ कमेरेभिरमा ठूलो पहिरो खस्दा आवागमन ठप्प छ। यद्यपि, ज्वाङखोला र शीतलबजार क्षेत्रमा भने पहिरो पन्छाएर सवारी साधन एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। 

अरनिको राजमार्ग (सिन्धुपाल्चोक)

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा सडक भासिएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। चीनसँगको व्यापारिक नाका जोड्ने यो सडकखण्डमा पहिरो र सडक क्षतिका कारण यातायात सञ्चालन हुनसकेको छैन। 

 पासाङ ल्हामु र त्रिशूली–मैलुङ सडक (रसुवा/नुवाकोट)

रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी, नुवाकोटको बेलकोटगढी–१० सिमटारमा आएको बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ। जोखिमलाई मध्यनजर गर्दै टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

 कर्णाली राजमार्ग (कालीकोट)

कर्णाली प्रदेशअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा ठूलो पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खस्दा मुगु–गमगढी सडक खण्ड पनि बन्द हुन पुगेको छ। 

 बीपी राजमार्ग (काभ्रे/सिन्धुली)

बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको उच्च जोखिमका कारण रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। यो खण्डमा १० टनसम्मका मालबहाक सवारीलाई रातिको समयमा र यात्रुबाहक सवारीलाई दिउँसोको समयमा मात्र परिस्थिति मूल्याङ्कन गरेर चल्न दिइएको छ। 

यात्रा गर्नुअघि सतर्कता अपनाउन आग्रह

सडक विभाग र सुरक्षा निकायका टोलीहरू प्राविधिक उपकरणसहित पहिरो पन्छाउने र वैकल्पिक ट्र्याक खोल्ने कार्यमा निरन्तर जुटिरहेका छन्। लगातारको वर्षाले काममा अवरोध पुर्‍याइरहेकाले प्रहरीले लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझ्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। 

आइतबार​ २८ भदौ २०८३ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया