काठमाडौँ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले ललितपुरको सानेपास्थित Jana Aastha Media House मा छापा मारेको छ। बिहीबार बिहान करिब ७ बजे जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुर प्रहरीको संयुक्त टोली सञ्चारगृहको कार्यालय पुगेर खानतलासी गरेको हो।
डिजिटल प्रमाण खोज्दै न्युजरुममा छापा
प्रहरी टोलीले जनआस्थाको न्युजरुम र सम्पादक श्रेष्ठको कार्यकक्षमा प्रवेश गरी अनुसन्धानका लागि आवश्यक कागजपत्र, सीपीयू, मनिटर, ल्यापटप तथा मोबाइल लगायतका इलेक्ट्रोनिक उपकरणहरू संकलन गरेर लगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार श्रेष्ठविरुद्ध दर्ता भएको वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा सञ्चार माध्यममा प्रयोग भएका कम्प्युटर तथा कम्प्युटरजन्य उपकरणहरू हेर्नुपर्ने भएकाले रीतपूर्वक खानतलासी गरिएको हो। यसअघि बुधबार राति १ बजे प्रहरीले नख्खुस्थित श्रेष्ठको निवासमा समेत छापा मारी पारिवारिक प्रयोगमा रहेका ल्यापटप र मोबाइल नियन्त्रणमा लिएको थियो।
के थियो विवादको विषय?
प्रहरीका अनुसार गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग जोडेर एक युवतीको तस्बिरसहितको सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीले आफ्नो वैयक्तिक गोपनीयता भङ्ग र चरित्रहत्या गरेको भन्दै दीपिका सिंहले प्रहरीमा जाहेरी दिएपछि अदालतको अनुमतिमा श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो।
पत्रकार महासंघद्वारा कडा आन्दोलनको चेतावनी
सञ्चारगृहको न्युजरुममै पसेर समाचार उत्पादन गर्ने उपकरणहरू जफत गरिएपछि पत्रकार संगठनहरू थप आन्दोलित बनेका छन्। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितका सञ्चारकर्मीहरूले काठमाडौँ प्रहरी परिसर (भद्रकाली) अगाडि धर्ना दिँदै राज्यको यो कदमलाई 'प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप' भनेका छन्।
महासंघले समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल जाने कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई थुन्ने र सञ्चारगृहमा छापा मार्ने कार्यले प्रेसमाथि डर र दबाबको वातावरण सिर्जना गरेको भन्दै जफत गरिएका सामग्री फिर्ता र श्रेष्ठको तत्काल रिहाइको माग गरेको छ।
प्रतिक्रिया