×

विमानस्थलमा ओर्लिँदै गर्दा देउवाको गर्जन: "जस्तोसुकै संकटमा पनि न्याय दिने नेपाली अदालत हो, म डराउन्न"

images

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको न्यायप्रणाली र सर्वोच्च अदालतप्रति आफ्नो पूर्ण आस्था रहेको बताउनुभएको छ। साढे पाँच महिना लामो विदेश बसाइ र स्वास्थ्य उपचारपछि आज बिहीबार दिउँसो १२:२५ बजे स्वदेश फर्किएलगत्तै विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो।

आफू र आफ्नी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको छानबिन र त्यसपछि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारे सोधिएको प्रश्नमा देउवाले भन्नुभयो:

"नेपालको अदालतप्रति मलाई पूरा विश्वास छ। यो अदालतले त पञ्चायतकालको कठिन परिस्थितिमा पनि न्याय दिएको इतिहास छ। अहिलेको लोकतान्त्रिक व्यवस्थामा मलाई अदालतबाट अन्याय हुन्छ भन्ने बिल्कुल लाग्दैन  ।"

उहाँले कानुनी राज्य र विधिको शासनमा कांग्रेसले सधैँ विश्वास गर्ने भन्दै चलिरहेको कानुनी प्रक्रियालाई आफ्नो पूर्ण सहयोग रहने समेत प्रष्ट पार्नुभयो।

थाई एअरवेजको उडान नम्बर टीजी ३१९ बाट अवतरण हुनुभएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका शीर्ष नेता, सांसद तथा हजारौँ कार्यकर्ताको बाक्लो उपस्थिति थियो। विमानस्थल बाहिर नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरूले बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवाको पक्षमा नाराबाजी गर्दै भव्य स्वागत गरेका थिए, जसलाई राजनीतिक वृत्तमा इतर समूहको 'शक्ति प्रदर्शन' का रूपमा हेरिएको छ।

स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिँदै देउवाले भोलि साउन २९ गतेदेखि सुकेधारामा सुरु हुने पार्टीको इतर समूहको तीनदिने विशेष राष्ट्रिय भेलालाई आफूले सम्बोधन गर्ने बताउनुभयो। उहाँले पार्टीभित्रको आन्तरिक एकता र वर्तमान सत्ता समीकरणलाई थप सुदृढ बनाउन आफू तत्कालै राजनीतिक भेटघाटमा सक्रिय हुने संकेत समेत दिनुभयो।

बिहीबार २८ साउन २०८३ ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया