×

मिडिया हाउस र सुपरमार्केट बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ, धनीको खोजी गर्दै प्रहरी

images

काठमाडौँ । काठमाडौँका विभिन्न स्थापित सञ्चारगृह (मिडिया हाउस) तथा भाटभटेनी सुपरमार्केट बाहिर सोमबार बिहानैदेखि शंकास्पद रूपमा सवारीसाधनहरू पार्किङ गरेर छाडिएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।

प्राप्त जानकारीअनुसार तिनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरमा रहेको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मुख्य कार्यालयको गेटै अगाडि अज्ञात रूपमा गाडीहरू पार्किङ गरिएका थिए। सञ्चारगृहको मुख्य प्रवेशद्वारमै गाडी तेर्स्याइँदा सञ्चारकर्मी तथा कर्मचारीहरूको आवतजावत पूर्ण रूपमा प्रभावित भएको थियो।

काठमाडौँको अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पनि बिहान करिब ७ बजेदेखि एउटा गाडी शंकास्पद अवस्थामा राखिएको फेला परेको थियो।

घटनाको जानकारी पाएलगत्तै एक्सनमा उत्रिएको प्रहरीले कान्तिपुर पब्लिकेशनको गेट अगाडि राखिएको गाडीलाई क्रेन प्रयोग गरेर हटाएको छ। अन्य स्थानमा फेला परेका गाडीहरूमाथि पनि प्रहरीले विशेष अनुसन्धान सुरु गरिसकेको छ। उपत्यका प्रहरीले यी शंकास्पद गाडीका धनीहरू को हुन् र कुन उद्देश्यले यसरी गेटै थुन्ने गरी राखिएको हो भन्नेबारे खोजी तीव्र पारिएको जनाएको छ।

सञ्चारगृहको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै तत्काल ती अवरोधहरू हटाउन, सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न र घटनाको सूक्ष्म छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

प्रहरीले अहिले ती क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाउनुका साथै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

सोमबार २९ असार २०८३ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया