काठमाडौं। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँजी गर्ने काम गरेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए।
उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु। यस्ता अपमानजनक र जालसाँजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ।’
त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाजीमा नलागी सचेत रहन सुझाव दिए। रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए।
‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन्। यसमा तपाईहरु सचेत हुनुहोस्। किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ। हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’ उनले भने।
बैठकमा उनले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले भने, ‘भिजिट भिसासम्बन्धी प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैन, ममाथि लगाइएको आरोपप्रति खेद व्यक्त गर्न चाहन्छु ।’
भिजिट भिसासम्बन्धी प्रणाली विगत लामो समयदेखि लागू हुँदै आएको जानकारी दिँदै उनले आफ्नो कार्यकालभन्दा अघिल्ला मन्त्रीका पालामा बढी व्यक्ति भिजिट भिसामा विदेश गएको तथ्याङ्क प्रस्तुत गरे । गृहमन्त्री लेखकले भने, ‘नियोजित, षड्यन्त्रपूर्ण ढङ्गले राजनीतिक चरित्रहत्या र राजनीतिक प्रतिशोध पूरा गर्नका लागि उठाइएका विषय हुन्, यस्ता निकृष्ट खाले प्रवृत्ति अन्त्य गर्नुस् म यो चाहन्छु ।’
संवैधानिक निकायले छानबिन गरिराखेको अवस्थालाई सरकारसँग जोड्ने हो भने विगतमा कति मन्त्रीहरूले राजीनामा र जवाफ दिएका थिए भनी प्रश्न गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि कामकारबाहीलाई आफूले खुला हृदयले सहयोग गर्ने विश्वास दिलाए ।
लोकतन्त्र र विधिको शासनलाई सुदृढ तुल्याउन आफू निरन्तर लागिरहेको जनाउँदै गृहमन्त्री लेखकले आयोगको छानबिन र कारबाहीलाई कसैले पनि प्रभावित हुन दिन नहुने बताए ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगले बोलाएको विषय सञ्चारमाध्यमबाटै थाहा पाएको उनले स्पष्ट पारे ।
गृहमन्त्री लेखकले अध्यागमन विषयमा देखिएका समस्या समाधान गर्न नीतिगत, कानुनी र संरचना गत सुधारका एक महिनाभित्रै काम थालनी गर्ने विश्वास दिलाए । ‘संसद् सञ्चालनका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीचमा भएको सहमतिलाई स्वागत र हृदयगम गर्दै अक्षरसः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’– उनले भने ।
प्रतिक्रिया