×

सत्तागठबन्धन दलबीच चुनावी तालमेलको आधार तयार

images

सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार,  स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने बैठकको निर्णय छ । बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताहरू उपस्थित हुनुहुन्थ्यो ।

बुधबार ३० चैत २०७८ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया