भोजपुर, १ वैशाख : सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।
भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ ।
गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ आठ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किराँत बान्तावाले बताउनुभयो । जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको रु ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट सङ्कलन गरिने उहाँको भनाइ छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया