गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सक्षम र इमानदार नेतृत्व चयन नगरे देशले पुनः दुस्ख भोग्नुपर्ने चेतावनी दिएका छन् । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा बोल्दै उनले यसपटक मतदातासामु सही प्रतिनिधि छान्ने महत्वपूर्ण अवसर रहेको बताए ।
विगतका कमजोरीबाट पाठ सिक्दै सचेत निर्णय लिन मतदातालाई आग्रह गर्दै उनले भने, “अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ । देश र भावी पुस्ताको भविष्यका लागि गम्भीर बन्नु आवश्यक छ ।”
सभापति लामिछानेले प्रतिनिधि सभा निर्वाचनलाई महाभारतको युद्धसँग तुलना गर्दै नागरिकलाई सत्य र न्यायको पक्षमा उभिन आह्वान गरे । “तपाईंहरू कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा बस्ने, छुट्याउनुपर्छ,” उनले भने, “यो चुनाव नैतिकता, सुशासन र जिम्मेवार नेतृत्व रोज्ने निर्णायक क्षण हो ।”
उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको दिशा तय गर्ने जिम्मेवारी मतदाताकै हातमा रहेको पनि उल्लेख गरे ।
प्रतिक्रिया