काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने बसिरहेको नक्खु कारागारले फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कारागार प्रशासनले फरार भएका सबै थुनुवा र कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
फरार भइरहे कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने पनि कारागार प्रशासनले चेतावनी दिएको छ ।
यस्तै विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न पनि आग्रह गरिएको छ।
यसै कारागारबाट सहकारीको बचत रकम हिनामिना प्रकरणमा अदालतको आदेशअनुसार रास्वपा सभापति लामिछाने पुर्पक्षका लागि थुनामा थिए । उनी भदौ २४ गते ठुलो संख्यामा समर्थकको भिड बोलाएर सुरक्षा चुनौती देखाउँदै कारागारबाट निस्किएका थिए । लामिछानेलाई छाडेपछि कारागारका बाँकी कैदी बन्दी पनि निस्किएका थिए । त्यसपछि देशभरका कारागारमा एक किसिमको विद्रोह नै भएको थियो । यसक्रममा देशभरका कारागारबाट १६ हजारभन्दा बढी कैदी बन्दी निस्किएको आँकडा रहेको छ ।
प्रतिक्रिया