काठमाडौँ । फ्रान्सको पेरिसमा जारी इ-स्पोर्ट्स वर्ल्डकप अन्तर्गत ‘पब्जी मोबाइल वर्ल्डकप (PMWC) २०२६’ मा नेपालको प्रतिनिधित्व गरिरहेको होरा ईस्पोर्ट्स (Horaa Esports) सोझै ग्राण्ड फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको कठिन मानिएको समूह ‘बी’ मा उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गरेपछि होरा ईस्पोर्ट्सले विश्वका शीर्ष टिमहरूसँगै ग्राण्ड फाइनलको यात्रा तय गरेको हो।
कुल १२ खेलको समूह चरणको यात्रामा १ 'चिकन डिनर'सहित ९८ अंक जोड्दै नेपाली टिम शीर्ष ५ भित्र पर्न सफल भएको हो। होराले पहिलो दिन ५९ अंक र दोस्रो दिन ३९ अंक जोडेको थियो। टोलीले ६१ इलिमिनेसन (किल्स) र ३७ प्लेसमेन्ट अंक हासिल गरेको छ।
ग्राण्ड फाइनलमा प्रवेश गरेसँगै होरा ईस्पोर्ट्सले कम्तीमा ५७ हजार ५ सय अमेरिकी डलर (करिब ७७ लाख रूपैयाँभन्दा बढी) पुरस्कार राशि समेत सुरक्षित गरिसकेको छ।
अब आगामी अगस्ट १४ देखि १६ सम्म हुने ३ दिनको ग्राण्ड फाइनलमा कुल १६ टोलीहरूबीच उपाधिका लागि भीडन्त हुनेछ। विजेता टिमले ५ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछ।
नेपाली गेमिङ टोलीका कप्तान सुप्रिम 'जिगल' अधिकारी र खेलाडी आयुष 'नोफियर' लामाले समूह चरणको सफलतापछि खुसी व्यक्त गर्दै फाइनलमा अझै उत्कृष्ट प्रदर्शनका साथ देशको नाम राख्ने प्रतिबद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली टोलीको यो सफलताले देशभित्रका इ-स्पोर्ट्सप्रेमीहरूमा ठूलो उत्साह छाएको छ।
प्रतिक्रिया