ई-संचारपाटी,
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको स्थान र तयारी पूरा भएको छ। आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको हो।
इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन समारोह साउन २९ गते (शुक्रबार) दिउँसो १ बजे सुरु हुनेछ। तीन दिनसम्म चल्ने यस राष्ट्रिय भेलाको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहने जानकारी दिइएको छ।
आयोजक समूहले दिएको जानकारी अनुसार भेलामा देशभरका करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ। पहिलो दिन भव्य उद्घाटन सत्र हुनेछ भने बाँकी दुई दिन बन्द सत्र सञ्चालन गरी पार्टीको भावी रणनीति, नीति तथा साङ्गठनिक सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिनेछ।
विदेशमा उपचाररत रहेका पूर्वसभापति शेरबहादुर देउवा भेला सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात् बिहीबार मध्यान्ह १२:३० बजे थाइ एयरको उडानमार्फत काठमाडौँ अवतरण हुने कार्यक्रम रहेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
पार्टीभित्रको आन्तरिक समीकरण र समसामयिक राजनीतिक घटनाक्रमका बीच हुन लागेको इतर समूहको यस राष्ट्रिय भेलालाई निकै चासोका साथ हेरिएको छ।
प्रतिक्रिया