×

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

images

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्।

सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन्।

आयोगका सदस्य एवं पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै तीन हजार ३२२ निवेदन परेको बताए। उनका अनुसार पर्सामा एक हजार ३२१, रौतहटमा दुई हजार ५८, सर्लाहीमा एक हजार ९२०, महोत्तरीमा दुई हजार ३३६, धनुषामा दुई हजार ६१५, सिराहामा दुई हजार ९२० र सप्तरीमा एक हजार ५७९ वटा निवेदन परेका छन्। उनले भने, “पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन्।

१६ हजारको तथ्याङ्क इन्ट्री भइसकेको छ। केही मुद्दामा मिलापत्र पनि भएको छ। निवेदनलाई वर्गीकरण गरिएको छ। अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिने छ।”

सदस्य अर्यालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्लामा कार्यदल गठन गरिएको छ। उनले भने, “चेक बाउन्स, रकम असुली राख्ने, दोहोरो तेहरो गरी पैसा भुक्तानी लिने जस्ता काम भएको पाइयो।”

आयोगका सदस्य एवं प्रवक्ता उत्तमराज सुवेदीले जिल्ला प्रशासन कार्यालय, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, न्यायिक समितिसहित सरोकारवालाले पनि मिटरब्याजपीडितका लागि काम अघि बढाएको बताए।

उनका अनुसार मिलापत्रमै टुङ्गिने विषय भए मिलापत्र गरेर प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्ने छ। उनले मुख्य प्राथमिकतालाई वर्गीकरण गरिएको बताए। गोरखापत्र दैनिकबाट

सोमबार २९ जेठ २०८० ०८:१५ AM मा प्रकाशित

प्रतिक्रिया