बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले तीव्र विरोध जनाएका छन्। भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा प्रवेश गरेपछि सीमा क्षेत्रमा केही बेर तनावको स्थिति सिर्जना भएको थियो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आज बिहान हतियारधारी भारतीय सुरक्षाकर्मीहरू नेपाली किसानहरूको उखु खेती गरिएको क्षेत्रमा आइपुगेका थिए। नेपाली भूमिमा अचानक हतियारसहित विदेशी सुरक्षाकर्मी देखेपछि स्थानीय किसान तथा सर्वसाधारणले उनीहरूलाई घेरेर नेपाल प्रवेश गर्नुको कारण सोध्दै विरोध गरेका थिए। सो क्रममा स्थानीय र एसएसबीका जवानहरूबीच भनाभन र केही समय विवादसमेत भएको थियो। स्थानीयको कडा प्रतिवादपछि भारतीय सुरक्षाकर्मीहरू पुनः भारतीय भूभागकै तर्फ फर्किएका थिए।
घटनाबारे जानकारी दिँदै नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले नियमित गस्तीमा रहेको भारतीय टोली बाटो बिग्रिएका कारण नेपाली क्षेत्रमा पस्न पुगेको बताएका छन्।
उनका अनुसार भारतीय क्षेत्रतर्फ रहेको एउटा कल्भर्ट भत्किएका कारण उनीहरूले वैकल्पिक बाटोको रूपमा नेपाली किसानको उखुबारीको 'आलि' (काँध) प्रयोग गरेका थिए। भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो अवरुद्ध भएकाले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गर्नुपरेको जानकारी स्थानीय किसानहरूलाई पनि गराएका थिए।
स्थानीय प्रशासनले भारतीय सुरक्षाकर्मीहरूलाई नेपाली भूभागको प्रयोग नगर्न र भारतीय क्षेत्रकै बाटो तत्काल मर्मत गरी आफ्नो क्षेत्रमा मात्र सीमित रहन निर्देशन दिएको छ।
केही दिनअघि मात्र सुस्ता क्षेत्रमै भारतीय पक्षले नेपालतर्फ भइरहेको तटबन्ध निर्माणमा अवरोध गरेको विषय सार्वजनिक भएको थियो। यद्यपि, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार आजको यो घटना र अघिल्लो तटबन्ध विवाद एउटै वडा (सुस्ता गाउँपालिका–५) भित्र परे पनि फरक–फरक स्थानका हुन्।
हाल स्थानीय प्रशासनले यस संवेदनशील सीमा क्षेत्रको घटनाबारे थप जानकारी र वस्तुस्थिति संकलन गरिरहेको जनाएको छ।
प्रतिक्रिया