×

प्रचण्ड भन्छन इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र आफुलाई बद्नाम गर्न खोजे

images

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र आफुलाई बद्नाम गर्न खोजेको गुनासो गरेका छन्। शनिबार काठमाडौंमा खिमलाल देवकोटाद्वारा लिखित संक्रमणकालिन न्याय पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले माओवादी र विशेषगरि आफुलाई १७ हजारको हत्यारा भनेर नकारात्मक भाष्य बनाउने कोशीस भइरहेको बताएका हुन्।

‘एकथरी मानिसहरु, इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिरहँदा, होइन यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त ?,' उनले भने, '१७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।'

उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए । 'व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ,' उनले भने, 'तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजिवी, राजनीतिक दल, सात राजनीतिक दल, त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईँहरु पनि कोही बोल्न चाहनुभएको छैन ।'

उनले थपे, 'तपाईँहरु पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठीक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’

अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएकोमा पनि आपत्ति जनाए । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि थियो । उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताए । ‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै, उस्तै । लोकतन्त्रलाई नेतातन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुन भनेको छ । त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ,' उनले भने, 'यो विषय पनि यहाँ पनि सबै उस्तै हुन्, अथवा माओवादी मात्रै १७ हजारको जिम्मेवार हो । हत्यारा हो, आतंककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अंग भएको कुरालाई हामी के भन्छौँ छ ? त्यो गलत हो ? त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो ।’
 

शनिबार २९ चैत २०८१ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया