×

जनताको फैसला शिरोधार्य छ, हामी जनताकै बीचमा रहनेछौँ- अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन् । लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै ओलीले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाएका छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उनले विशेष धन्यवाद दिएका छन्।

कठिन परिस्थितिमा पनि साथ दिने समर्थकहरूको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै ओलीले जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने स्पष्ट पारेका छन्। हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको दृढता छ।

निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै ओलीले आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने संकेत गरेका छन्। फेसबुक पोस्टको अन्त्यमा उनले हृदयदेखि नै सबै समर्थकलाई आभार व्यक्त गर्दै चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने बताएका छन्।  

उनले निर्वाचनको परिणाम एमालेका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने बताएका छन् । भनेका छन्, ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।’

 

बिहीबार २८ फागुन २०८२ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया