×

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ५ अर्ब नजिक

images

 काठमाडौं । पुस महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको हो । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ ।

बजार खुल्ने बित्तीकै उच्च दरमा बढेको नेप्से, बिक्रीचाप बढेसँगै ओरालो लाग्न थालेको थियो। यस दिन नेप्से परिसूचक ४१.०२ अंक घटेर २१४९.४१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५२ स्टकको ८३ हजार ११३ पटकको कारोबारमा ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन ती स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.१८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी पावरको करिब १८ करोडको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब १७ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूह्को परिसूचक सर्वाधिक ३.७० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार २८ पुस २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया