×

कांग्रेसले बोलायो भोलि ११ बजे केन्द्रीय कार्यसमिति बैठक

images

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार ११ बजे बोलाइएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मङ्गलवारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियासम्म जाने गरी कार्यविधि पारित भएपछि कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेसमा देखिएको समस्याका विषयमा छलफल हुने जनाएको छ । पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताइरहेका छन् ।

सोमबार २८ पुस २०८२ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया