×

गठबन्धनको जित सुनिश्चित छ : प्रकाशमान सिंह

images

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए। 

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए । नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दाबी गरे । 

उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाउने काम गर्न चाहेको बताए । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो ? भन्नेकुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । 

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरुले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए । 

नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यतिबेला आस्न्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् । 

शुक्रबार​ २५ कात्तिक २०७९ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया