काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा प्रधानमन्त्रीको लगातारको अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाउँदै व्यङ्ग्य र असन्तोष व्यक्त गरेको छ। संसद् बैठकमा बोल्दै कांग्रेस सांसदहरूले संसद्मा उठेका गम्भीर विषय र जनसरोकारका मुद्दामा जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन्।
बैठकमा विशेष/शून्य समयमा बोल्दै सांसदले भने, "संसद्मा हरेक दिन देशका जल्दाबल्दा समस्याबारे छलफल हुन्छ, तर त्यसको उत्तर दिनुपर्ने प्रधानमन्त्री भने निरन्तर अनुपस्थित हुनुहुन्छ। संसद्मा हरेक दिन प्रधानमन्त्री खोज्दै टेबुल ढ्याप-ढ्याप पार्नुपर्दा हामीलाई नै लाज लागिसक्यो।"
कांग्रेसले सरकार र विशेषगरी प्रधानमन्त्री संसद् र जनप्रतिनिधिसामु जवाफदेही हुनुपर्ने संवैधानिक मान्यता रहेको स्मरण गराएको छ। सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमा र जनताका सवाललाई सरकारले हल्का रूपमा लिएको पुष्टि हुने आरोपसमेत लगाएका छन्।
प्रतिपक्षी दलले तत्काल संसद् बैठकमा उपस्थित भएर देशमा व्याप्त विभिन्न समसामयिक मुद्दाहरूमा स्पष्ट पारिदिन र संसद्प्रतिको उत्तरदायित्व बहन गर्न प्रधानमन्त्रीसँग जोडदार माग गरेको छ।
प्रतिक्रिया