पूर्वसञ्चारमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूलाई मुछिएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आजको संसद बैठकको आकस्मिक समयमा बोल्दै उनले उक्त आरोपप्रति आपत्ति जनाएका हुन् ।
उनले आफू उक्त कम्पनीसँग एउटा मिटिङ पनि नबसेको दाबी गरेका छन् । आफू सभामुख र रास्वपा सभापतिलाई लिखित जानकारी दिएर स्वीट्जरल्यान्ड गएको र एउटा कार्यक्रममा स्पिकरका रुपमा सहभागी भएको उनले बताए । तर, नेपालमा एक दैनिक पत्रिकाले आफू स्वीट्जरल्यान्ड भागेको भनेर लेखेकोप्रति खरेलले आपत्ति जनाए ।
उनले भने, ‘म गएको भोलिपल्ट नै राजधानी दैनिक नामक पत्रिकाले पूर्वसञ्चारमन्त्री भागे भनेर समाचार लेखेको रहेछ । त्यसप्रति गहिरो खेद प्रकट गर्न चाहन्छु । स्मार्ट टेलिकमको २० अर्ब ठगी प्रकरण भनेर लेखिएको यति निरर्थक र तल्लो स्तरको पत्रकारीताले मेरो मानसम्मान, प्रतिष्ठा, राजनीतिक जीवनमा ठेस पुर्याएको छ ।’
खरेलले स्मार्ट टेलिकम प्रकरणमा एउटा पनि फाइल आफूले अघि बढाएको र एउटा पनि मिटिङ पनि गरेको पाइएमा सम्पूर्ण राजनीतिक जीवनबाट विदा लिने घोषणा गरे । ‘सी ग्रेडको पत्रकारीता गर्ने पत्रिकाका मालिक र सम्पादकहरुले मलाई लगाएको आरोप प्रमाणित गर्न नसके तिम्रो पत्रिका बन्द गर्ने हिम्मत छ ? ’ उनले प्रश्न गरे ।
प्रतिक्रिया