×

सरकारले लोकतन्त्रलाई गंगा नदी ठानेर नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, बालमन्दिरजस्ता काण्डहरु धोए-प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले लोकतन्त्रलाई गंगा नदी ठानेर नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, बालमन्दिरजस्ता काण्डहरु धोएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्र्दै उनले सरकारको यस्ता अकर्मन्यताको कारण जनताको नजरमा लोकतन्त्र मैलो भएको बताए ।

‘तपाईँहरुले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहनु भएको छ । पछिल्लो आठ महिनामा तपाईँहरुले लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिनु भएको छ । एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा, तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, तर फोहोर थुप्रियो लोकतन्त्रमा, गिरीबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयको जमिनका काण्डहरु धुनुभयो । जनताको नजरमा मैलो लोकतन्त्र देखियो,’– उनले भने ।

सरकारप्रतिको आक्रोश अहिले व्यवस्थामाथि पोखिन खोजेको उनले बताए । यस कुरालाई सरकारले आत्मसमीक्षा गर्न आवश्यक रहेको प्रचण्डको भनाइ छ । उनले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको बताए । दुई तिहाइको घोडा विचौलियाहरुले चलाइरहेको उनको आरोप छ । विचौलियाहरुको दबावमा निर्णय र नियुक्ति भइरहेको प्रचण्डको दाबी छ । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया रहेको प्रचण्डको आरोप छ ।

  साथै  प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् । वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’ उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । 

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’ उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए । राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । उनले सत्तासीनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए ।

मङ्गलबार २७ फागुन २०८१ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया