×

वैदेशिक व्यापारः सात महिनामा १३१ अर्बको आयात हुँदा ११४७ अर्बको निर्यात

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको सात महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् ०.०१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई रु.१०१५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १२८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १०४ अर्ब १३ करोड बराबरको भएको थियो । 

शुक्रबार​ २७ फागुन २०७८ ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया