काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि मतदताले हसिया हथौडा खोजिरहेको दाबी गरेका छन् । आफूहरु तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिए पनि जनताले भने हसिया हथौडा नै खोजिरहेकाले तारा चिन्ह चिनाउनुपर्ने अवस्था रहेको बताए।
पोखरामा कार्यकर्ता भेटघाटका क्रममा दाहालले केही व्यक्तिहरु अहिले पनि निर्वाचन नहुने भन्दै भ्रम फैलाउन लागिपरिहेको भए पनि चुनाव हुने विषयमा कुनै दुविधा छैन भने । नेकपा एमालेप्रति लक्षित गर्दै उनले सूर्य भन्दा तारा धेरै माथि रहेको दाबी समेत गरे ।
बुधबार पोखरामा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले व्यङ्ग्यात्मक रूपमा आफूहरू तारामा पुगेको र तारा सूर्यभन्दा धेरै माथि हुने तर्क गरेका हुन् । ‘तारामा हामी पुगिसकियो । सूर्य भन्दा कति हो कति माथि हुन्छ तारा, त्यति माथि पुगिसकियो भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन,’ उनले भने, ‘तपाईँहरूले आफ्नो चुनाव चिन्ह र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी छ ।’
‘सबैतिरको स्थिति हेर्दा, समानुपातिकमा चाहिँ अलिकति नयाँहरूको वेभ चाहिँ नयाँ ठाउँमा देखिएपनि प्रत्यक्ष तर्फको वेभ चाहिँ नेपाली कम्युनिस्ट पार्टीमै छ,’ अघि भने, ‘प्रत्यक्ष तर्फको वेभ हामी तिर बढी छ । त्यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्ने छ ।’ प्रचण्डले आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले कुनै पनि शक्तिसँग गठबन्धन नगर्ने दोहोर्याएका हुन् ।
‘हामी कुनै खालको समीकरण वा तालमेल गर्नेवाला छैनौँ,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी टेस्ट हुन चाहन्छौँ र मलाई विश्वास छ, हामी त्यो परीक्षामा उत्तीर्ण हुनेछौँ । चुनाव आउँदा नआउँदै हामी चाहिँ एक नम्बर पार्टी बन्ने ठाउँमा पुग्ने छौँ ।’
समानुपातिकमा नयाँ दलको राम्रो देखिएपनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने उनको दाबी छ । फेक न्युजका कारण अहिले समस्या भईरहेको भन्दै उनले आइटीको कार्यालय नै खडा गरेर चुनावी अभियानमा आफूहरु लागेको बताए ।
प्रतिक्रिया