काठमाडौँ- घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यसबारे प्रतिक्रिया दिएका छन् ।
एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । महान्यायाधिवक्ता कार्यालले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । सरकारको त्यस्तो निर्णयको विरुद्ध प्रतिनिधि सभामा समेत प्रतिपक्षी दलका सांसदहरुले प्रश्न उठाइरहेका छन् ।
एमाले नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य शर्मामाथि आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेको थियो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । गत जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो ।
महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो ।
सरकारले सांसद शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेसँग काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले ती बालिकालाई नआत्तिन भनेका छन् । उनले बालिकालाई सम्बोधन गर्दै भनेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
प्रतिक्रिया