काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। त्यसअघि महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने छन्।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो। सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ। उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। करिब ८० वर्षको कांग्रेसको इतिहासमा यो दोस्रो विशेष महाधिवेशन हो । २०१२ मा वीरगन्जमा भएको छैटौं नियमित महाधिवेशनबाट सभापति भएका सुवर्णशमशेरले २०१४ मा विशेष महाधिवेशन आह्वान गरेर पार्टी नेतृत्व बीपी कोइरालालाई सुम्पेका थिए । तर, यसपालि भने सभापतिको अवरोधबीच विशेष महाधिवेशन हुँदैछ ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था विधानमा भएकामा यसपालि ५४ प्रतिशतले हस्ताक्षर गरेका छन् । विधानको बाध्यकारी व्यवस्थामा टेकेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नेतृत्व लिएका छन् । यद्यपि अन्तिम समयसम्म सभापति देउवालाई उनकै निकटवर्ती र विशेष महाधिवेशन पक्षधर नेताहरूले महाधिवेशनमा उपस्थित गराउने कसरत जारी राखेका छन् । तर, देउवाले विशेष महाधिवेशनको शब्द नै सुन्न नचाहेको नेताहरूको भनाइ छ ।
आज र भोलि हुने उक्त विशेष महाधिवेशनको काठमाडौंको भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान ११ बजे काठमाडौंको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई जुलुसका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको आयोजक समितिले जनाएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ । बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भए पनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।
अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरूले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । विशेष महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
प्रतिक्रिया