×

राधिका शाक्यको सनसनीपूर्ण खुलासा: 'बालकोट घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो'

images

 काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालकोटस्थित आफ्नो निवासमा भएको आगजनी केवल घर–सम्पत्ति नष्ट गर्ने उद्देश्यले मात्र नभई केपी ओलीलाई नै जलाएर मार्ने आपराधिक योजना रहेको सनसनीपूर्ण खुलासा गरेकी छिन्। 

गत वर्ष भदौ २४ गते 'जेनजी आन्दोलन'का क्रममा बालकोट निवासमा भएको उक्त आगजनीको एक वर्ष पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा उनले यो दाबी गरेकी हुन्। 

बुधबार भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासको भग्नावशेषमै आयोजित विशेष समारोहमा शाक्यद्वारा लिखित 'स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष' नामक संस्मरणात्मक पुस्तिका सार्वजनिक गरिएको थियो। सोही पुस्तक विमोचनका क्रममा उनले विगतको उक्त भयानक घटना स्मरण गर्दै आफ्ना गम्भीर अनुभूतिहरू साटेकी हुन्। 

कार्यक्रममा बोल्दै राधिका शाक्यले आन्दोलनका नाममा राजनीतिक प्रतिशोध साधिएको आरोप लगाइन्। उनले भनिन्, "खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै हाम्रो एक वर्षको पुण्यतिथि भइरहेको हुन्थ्यो।" 

लाखौँ देशभक्त नेपाली नागरिकहरूको माया र भरोसाका कारण मात्र आफूहरू त्यो भयानक परिस्थितिको सामना गरेर जीवित रहन सफल भएको उनको भनाइ थियो। 

आफूहरूमाथि कुनै पनि अपराध वा कसुरविना नै निरन्तर अपराधीको रूपमा चित्रण गर्न खोजिएको भन्दै उनले गम्भीर गुनासो पोखिन्। "एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप–लाञ्छना लगाइरहेका छन्," शाक्यले आक्रोश व्यक्त गरिन्। हालै मुलुकमा आएको ठूलो प्राकृतिक विपद्का कारण नागरिकहरू मर्माहत भइरहेका बेला पनि ओलीमाथि नानाथरीका राजनीतिक आरोप लगाएर निकृष्ट राजनीति गरिएको भन्दै उनले कडा आपत्ति जनाइन्।

आफूहरूलाई जतिसुकै मानसिक तनाव, दुःख र बाधा दिए पनि कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने र जस्तोसुकै परिस्थितिको पनि दृढतापूर्वक सामना गर्ने ओली दम्पतीको संकल्प रहेको उनले स्पष्ट पारिन्। प्रतिशोधको राजनीति गर्ने तत्वहरू आफैँ बिस्तारै पतन भएर जाने दाबी गर्दै उनले सत्यको सधैँ जित हुने विश्वास व्यक्त गरिन्। 

सार्वजनिक गरिएको उक्त संस्मरण पुस्तिकामा २०८२ साल भदौ २३ र २४ गते बालकोट निवास घेराउ हुँदा, आगजनी हुँदा र त्यसपछिका १० दिन सैनिक ब्यारेकभित्र शरण लिनुपर्दाका भित्री घटनाक्रम तथा पारिवारिक मनोदशालाई विस्तृत रूपमा समेटिएको छ। उक्त विमोचन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका वरिष्ठ नेताहरू र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। 


 

बिहीबार २५ भदौ २०८३ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया