×

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

images

आज आषाढ शुक्ल पूर्णिमाको दिन गायत्री मन्त्र, वेद मन्त्र सुनेर र गुरुजनप्रति सम्मान व्यक्त गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ। धर्मशास्त्र र तन्त्रशास्त्रका पुस्तकमा उल्लिखित अनुसार, ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गर्ने व्यक्तिलाई गुरु भनिन्छ। नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु मानिन्छ।

शास्त्रले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रुपमा मानेको छ र यसलाई निम्न श्लोकमा वर्णन गरिएको छ:


गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।

गुरुपूर्णिमाको अवसरमा विभिन्न विद्यालय र संघसंस्थाहरूले कार्यक्रम गरी गुरुप्रति श्रद्धाभाव प्रकट गर्छन्।

आज व्यास जयन्ती पनि मनाइन्छ, जसमा वेदव्यासको सम्झना गरिन्छ, जसले वेदलाई चार भागमा विभाजन गरी १८ पुराण र १८ उपपुराणको रचना गर्नुभयो। वेदव्यासले आफ्नो पुराणहरू मार्फत मानवतावादी सन्देश दिनुभएको छ:

अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।
परोपकार पुण्याय, पापाय परपीडनम्’।।

यस अवसरमा देशभरका गुरुकुल, शिक्षालय र विभिन्न संघसंस्थाहरूले गुरुपूर्णिमा पर्व मनाउने जनाइएको छ।

बिहीबार २६ असार २०८२ ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया