×

मासिक रूपमा ब्याजदर परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन

images


काठमाडौं। बैङ्कहरुले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब बैङ्क तथा वित्तीय संस्थाले महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो । कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यसअघि त्रैमासिक रूपमा मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको थियो । साथै पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन पाइने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ । जुनसुकै अवस्थामा ब्याज दर वृद्धि नगर्न तथा ऋणीसँग सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने यो व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैङ्कले जनाएको छ ।

यो व्यवस्था स्थिर ब्याजदरमा ऋण लिएकाको हकमा भने लागू नहुने निर्देशनमा उल्लेख छ । पछिल्ला दिनहरूमा बैङ्कमा निक्षेप बढ्दै गएको छ । बैङ्कहरुले निक्षेपको ब्याजदर पनि घटाइरहेका छन् । निक्षेपमा ब्याज घट्दा लागत कम हुन गएको र यसले आधार दर पनि घटाउँदै लगेको छ ।

अब प्रत्येक महिना ब्याजदर घट्ने प्रावधानले ऋणीले राहत पाउने भएका छन् । राष्ट्र बैङ्कको नयाँ व्यवस्थाअनुसार अब जेठमै कर्जाको ब्याजदर घट्ने भएको छ । यसअघि भने तीन महिनामा मात्र ब्याजदर घटाउने नियम थियो । जस अनुसार साउनदेखि मात्र ब्याजदर घट्ने अवस्था थियो ।

बुधबार २७ बैशाख २०८० १०:०५ AM मा प्रकाशित

प्रतिक्रिया