×

बालुवाटारमा माओवादी घटकको बैठक : सङ्घर्षका कार्यक्रम ल्याउने तयारी

images

काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो ।

बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दर्ता भएको रिट अदालतको कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताए। 

उनले शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने पक्षमा निरन्तर अभियान जारी राख्ने निर्णय भएको बताए।

‘आदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि जान्छ। शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यसबारे सबै सजग र शतर्क भएका छन्', उनले भने, 'शान्ति प्रक्रियालाई उल्ट्याउन खोजे भए शान्ति प्रक्रिया समाप्त भए अर्कै कुरा हुन्छ। शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्नुपर्छ भन्नेकुरा भएको छ।’

 साथै माओवादी धारका आठ दलका तर्फबाट संयुक्त अपिल समेत गर्ने निर्णय भएको वैज्ञानिक समाजवादीका नेता जागृत रायमाझीले बताए । पहिलो चरणका कार्यक्रमलाई मूल्याङ्कन  गर्दै दोस्रो चरणका कार्यक्रम बनाइने रायमाझीले बताए । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलनमार्फत् भनिने बताए ।

अन्तर्क्रिया पनि यही विषयमा केन्द्रित हुने उनको भनाइ छ । अन्तर्क्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरु नजिकिएका छन् । यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

शुक्रबार​ २६ फागुन २०७९ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया