×

अधिवेशन सुरु भएको तीन महिनासम्म नेतृत्व चयनमा विवाद

images

बुटवल । प्रतिस्पर्धी दलहरु स्थानीय चुनावको तयारीमा लागिसक्दा नेकपा माओवादी केन्द्रले तीन महिनासम्म पनि बुटवल उपमहानगर कमिटीको नेतृत्व चुन्न सकेको छैन ।

गत मंसिर १८ गते सुरु भएको नगर अधिवेशन नेतृत्व चयनमा विवाद हुँदा पटक-पटक स्थगित हुँदै आएको छ । यसअघि पनि नेतृत्व चयनको विषयमा अधिवेशनस्थलमै दुई पक्षबीच हात हालाहालको स्थिति उत्पन्न भएपछि स्थगित भएको थियो ।

स्थगित भएको तीन महिनापछि बुटवलको जितगढीस्थित साइनो पार्टी प्यालेसमा बुधबार पुनः अधिवेशन सुरु भएको थियो । अधिवेशनमा पार्टी जिल्ला संयोजक निर्मल जीसी र प्रदेश योजना आयोगका उपाध्यक्षसमेत रहेका नेता बामदेव क्षेत्रीले नेतृत्वमा प्रस्ताव गरेका नामप्रति अन्यले असहमति जनाएपछि अधिवेशनस्थलमा होहल्ला, नाराबाजी र माइक तोडफोड भएको पार्टीका एक नेताले जानकारी दिए । त्यसपछि अधिवेशन स्थगित गरिएको छ ।

जीसी र क्षेत्रीले अध्यक्षमा महेन्द्र भुसाल, उपाध्यक्षमा मन्जु भुसाल र सचिवमा सागर न्यौपानेसहित १०१ सदस्यीय नगर कमिटी प्रस्ताव गरेका थिए । अध्यक्षमा प्रस्तावित भुसाल वामदेव क्षेत्रीसँगै डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा लागेर पछि पुनः माओवादी केन्द्रमा फर्केका थिए ।

पदाधिकारीका नाममा अर्को पक्षले समावेशी नभएको, स्थानीयलाई बेवास्ता गरिएको र नेतृत्वको पकेटका व्यक्ति मात्र ल्याउन खोजिएको भन्दै असहमति जनाएर होहल्ला गरेपछि नेतृत्व चयन गर्न नसकी अधिवेशन पुनः स्थगित भएको छ । उपाध्यक्षमा प्रस्ताव गरिएकी मन्जु भुसालले राजीनामा दिएकी छन् ।

नेतृत्वले प्रस्ताव गरेका नाममा असहमत पक्ष समावेशी नेतृत्व चयनमा सहमति नभए मतदानबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा छ । नेताहरु मनोज राना, चेतन भण्डारी, नारायण बन्जाडे लगायतका नेताहरुले समावेशी नेतृत्व बनाउनुपर्नेमा त्यसो हुन नसकेपछि अधिवेशन प्रतिनिधिहरु प्रस्तावित नाममा असहमत भएको बताएका छन् ।

जिल्ला नेतृत्व मतदानमा जाँदा पार्टी एकतामा असर पुग्ने तर्क गर्दै सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने अडानमा छ । ‘प्रतिस्पर्धी दलहरु स्थानीय चुनावको तयारीमा लागिसके हाम्रोमा यस्तो भांडभैलो छ,’ नाम उल्लेख नगर्न आग्रह गर्दै एक नेताले भने, ‘जिल्ला नेतृत्वले लाद्न चाहेर मात्र हुँदैन, समावेशी नेतृत्व भयो भने ठीक छ अन्यथा लोकतान्त्रिक विधि अनुसार मतदानबाट चयन गरिनुपर्छ ।’ ती नेताका अनुसार असन्तुष्ट पक्षलाई बेवास्ता गरेर नेतृत्वले प्रस्ताव गरेका नाम अनुमोदन गरिए नगरस्तरीय धेरै नेताले पार्टी छाड्ने दावी गरे ।

यसअघि मंसिरमा नगर अध्यक्षमा पुष्पराज ढकाल र उपाध्यक्षमा मनोज रानालाई प्रस्ताव गरिएको थियो । ढकालको नाममा विवाद नभए पनि अन्य पदाधिकारीमा सहमति नहुँदा नेतृत्व चयन हुन सकेको थिएन ।

नेतृत्व चयनका विषयमा विवाद हुँदा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण प्रयास भएको थियो ।

माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई नेतृत्व दिन दबाव दिएका छन् । ‘तीन महिनासम्म नेतृत्व चयन हुनसकेको छैन, यहाँभन्दा भाँडभैलो र सांगठनिक अराजकता के हुन्छ ?’ अर्का नेताले भने, ‘खल्तीका मान्छे नेतृत्वमा ल्याउने र पार्टी संगठन जे सुकै होस् भन्ने प्रवत्ति देखियो ।’

माओवादी केन्द्र जिल्ला संयोजक निर्मल जीसी भने एकाध व्यक्तिको मात्रै असहमति भएको दावी गर्दै जिल्ला नेतृत्वले प्रस्ताव गरेका पदाधिकारी नै अनुमोदन हुने बताउँछन् ।

‘एकाध व्यक्तिको विरोध हो, हामीले प्रस्ताव गरेका नाम नै अनुमोदन गरेर जाने हो,’ जीसीले भने, ‘आजै (बिहीबार) नै पत्रकार सम्मेलन गरेर नेतृत्व चयनबारे जानकारी गराउँछौं ।’

 

बिहीबार २६ फागुन २०७८ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया