काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । 'हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छ,' उनले भने ।
कार्यक्रममा दाहाल र पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी छन् । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि दाहालले घोषणा गरेका छन् । उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु । म पूर्वी रुकुममा आउने करिब निश्चित् छ । म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो । रुकुम एउटै हो ।’
प्रचण्डले जनार्दन शर्मालाई आन्दोलनबाट भागेको नेताको संज्ञा दिएका छन् । उनले रुकुमका जनता महान रहेको र जनार्दनजस्तो भगौडाको पछि नलागेको भनेर धन्यवाद ज्ञापन गरे । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा आफूले रुकुमका नेता कतिपय पलायन भएको र तर जनता पलायन नभएको भनेर भाषण गरेको पनि दाहालले स्मरण गराए । रुकुमका जनता र कार्यकर्ता जहिल्यैपनि नेतृत्व, क्रान्ति र पार्टीको साथमा रहेको उनको भनाई थियो । उनले रुकुमेली जनता कुनै पलायन, ढोंगी र पाखण्डको पछि नलाग्ने भनेर आफूले पहिल्यैपनि भनेको सम्झाए । उनले भने,‘रुकुमेली जनता पार्टीको पक्षमा उभिएका छन् । उनीहरु त क्रान्तिका लाल सिपाही हुन् ।’
जनार्दन विचलित भएको र कम्युनिष्ट अनि माक्र्सवाद छोड्ने ठाउँमा पुगेको प्रचण्डको आरोप छ । उनले जनार्दनहरुलाई साम्राज्यवादी र प्रक्रियावादीहरुको षड्यन्त्रअन्तर्गत विचलित गराईएको आरोप लगाए । उनले आफू अब रुकुमको पक्षमा रहने पनि घोषणा गरे । उनले भने,‘म हमेशा तपाईंहरुको साथमा हुनेछु । हेडक्वार्टर तपाईंहरुको साथमा हुनेछ । पहिलेभन्दा बढि यहाँको विकास गर्नेछु । यहाँको समग्र विकासमा मेरो साथ हुनेछ । नयाँ संकल्प गरेका छौं ।’
प्रतिक्रिया