काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
योसँगै सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ । लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो।
अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ । विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । एलिमिनेटर खेलमा बुधवार तेस्रो स्थानको काठमाडौ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन् । सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो । सुदूरपश्चिमको धारिलो बलिङ र फिल्डिङ सामु विराटनगरको ब्याटिङ निरिह बन्यो ।
विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक ब्याटिङ गर्न सकेनन् । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । मर्चेन्ट डे लाङले १५ र बसिर अहमदे १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।
सुदूरपश्चिमका बलरले पहिलो ओभरदेखि नै विकेट लिन थालेपछि विराटनगरको इनिङ्स धर्मराएको थियो । स्कट कुगेलेइनले पहिलो बलमै साम हिजलेटलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट आउट गराए ।
त्यही ओभरको अन्तिम बलमा मार्टिन गप्टिल रनआउट हुँदा विराटनगरले दोस्रो विकेट गुमायो । दोस्रो ओभरको पहिलो बलमै हर्मित सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३-३ को खराब अवस्थामा पुगेको थियो । एक छेउबाट लगातार विकेट जाँदा फाफ डु प्लेसीले अर्को छेउबाट सम्हाल्ने प्रयास गरेका थिए ।
डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । यी दुईले इनिङ्स अगाडि बढाउने प्रयास गरेका थिए । तर बसिर पनि आउट भएपछि विराटनगर दबाबमा पार्यो । सुदूरका कप्तान दीपेन्द्रले बसिरलाई कट एण्ड बोल्ड गरेका थिए ।
लोकेश बलमले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए तर ५ रनमा आउट भए । उनलाई अविनाश बोहराले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका नारायण जोशीलाई हर्मीतले बोल्ड गरेपछि विराटनगरले ९.१ ओभरमै ५३ रन बनाउँदा छैटौं विकेट गुमायो ।
११औं ओभरमा विराटनगरले डु प्लेसीसहित दुई विकेट गुमाएपछि इनिङ्स धरासयी बनेको थियो । एक छेउ सम्हालेका डु प्लेसीलाई हेमन्त धामीले शेल्डन ज्याक्सनबाट क्याचआउट गराए । त्यही ओभरमा प्रतिश जिसी पनि रनआउट भए । त्यसपछि मर्चेन्ट डे लाङ १५ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने अन्तिम विकेटको रुपमा आउट भए ।
प्रतिक्रिया