×

पोखरामा भयानक बस दुर्घटना : ५ जनाको मृत्यु, १४ घाइते

images

पोखरा । पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेको भीरबाट खोचमा खसेर दुर्घटनामा परेको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी चार जना विद्यार्थी (तीन बालिका र एक बालक) तथा एक जना स्थानीयवासीको मृत्यु भएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्यपश्चात् पहिचानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका १४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) तथा गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा २० भन्दा बढी सवार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार​ २३ असोज २०८३ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया