काठमाडौं । कास्कीमा बुधबार एकै दिन ४० जना डेंगुका सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगुका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
“समयमा नियन्त्रण गर्न नसके डेङ्गीले भयावह रुप लिन सक्छ”, उनले भने, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेंगुको सङ्क्रमण फैलिएको छ ।” उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगुका सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए ।
पोखरा महानगरपालिका डेंगुबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेंगु लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए । “असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने ।
प्रतिक्रिया