×

सहमहामन्त्रीमा मेरो दाबि छैन, एजेन्डामै नभएको प्रस्ताव आएकोले विरोध गरको हो- डा. तोसिमा कार्की

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले  आफ्नो सहमहामन्त्रीमा दाबि नरहेको स्पष्ट गरेकी छन ।  तोसिमाले केन्द्रीय समितिको बैठकमा आफुले विधिको प्रश्न उठाएको भन्दै सहमहामन्त्रीमा आफ्नो दाबि नभएको स्पष्ट गरेकी हुन् । 

उनले केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि अस्वीकार गरेको बताउदै तोसिमाले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक-योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्छ भन्ने आफ्नो मत रहेको बताएकी छन् ।

उनले भनेकी छन्- 

केन्दीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ व्यक्तिको विरोध गरेको होईन। साथै, रिक्त सह-महामन्त्रीमा मेरो दावी होईन । हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा निर्णय प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौँ। पार्टीले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्य सहित विधिसम्मत रुपले इच्छुक-योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्छ भन्ने मेरो मत हो।

केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी छैन। पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन केन्द्रीय समिति बैठकहरूमा घनिभूत छलफल र संवाद हुने गर्छ र त्यो जरुरी पनि छ।

केहि संचार माध्यम र सामाजिक सन्जालमा मलाई जोडेर खबरहरु जसरी आयो, त्यसमा मैले पार्टी पंक्ति र आम शुभेच्छुकहरुलाई स्पष्ट पार्नुपर्छ भन्ने लाग्छ। मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध जनाएको होइन। केन्द्रीय समितिमा एजेन्डा अनुरुप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो। र राम्रो कुरो, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो र एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ। यसकारण पनि मैले गर्वका साथ भन्ने गरेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो।

कृपया कसैले पनि गलत भास्य बनाएर मलाई पद-लोलुप जस्तो नदेखाइदिनु होला। यो सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन। म आम जनता समक्ष पुगेर चुनाव लडेर सांसद निर्वाचित भएको हुँ। पार्टी भित्र पनि अधिवेशनमा पदाधिकारीहरु निर्वाचित भएरै आउनुपर्छ भन्ने नीति/निर्णय स्थापित गर्न विधान संशोधनमा‌ मैले खेलेको भूमिकाबारे यहाँहरु जानकार नै हुनुहुन्छ। त्यसैले मैले कुनै पदमा दावी गर्नुपरे म चुनाव मार्फत नै आउनेछु‌।‌ राष्ट्रिय स्वतन्त्र पार्टीलाई यहाँहरुले गरिरहनुभएको माया, शुभेक्षा र शुभाशिर्वादको‌ लागि सधैँ आभारी छु। धन्यवाद।‌

शनिबार २५ साउन २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया