काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार गम्भीर शासकीय अराजकता र निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाउँदै संविधान र कानुनी विधिको ‘लेन’ मिच्न कदापि नदिने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले चालेका पछिल्ला कदमहरू लोकतान्त्रिक मूल्य-मान्यता विपरीत भएको भन्दै संसद्मार्फत कडा आपत्ति जनाएका हुन्।
सरकारले दुई तिहाइ बहुमतको दम्भमा राज्यका स्वतन्त्र निकायहरूलाई पङ्गु बनाउन खोजेको भन्दै थापाले सडक र सदन दुवै ठाउँबाट यसको सशक्त प्रतिवाद गर्ने स्पष्ट पारे। "सडकको लेन मिचे जरिवाना हुन्छ, संविधानको लेन मिचे नागरिकले दण्ड दिन्छन्"
सांसद थापाले ट्राफिक नियमको उदाहरण दिँदै सरकारको कार्यशैलीको कडा आलोचना गरे।
"सडकमा हिँड्दा सवारी साधनले लेन मिचेमा ट्राफिक प्रहरीले जरिवाना गराउँछ। तर अहिले त सिंगो सरकार नै संविधान र कानुनी विधिको 'लेन' मिचेर जथाभाबी दौडिरहेको छ। सरकार शासकीय अराजकताको बाटोमा फसेको छ। हामी कुनै पनि हालतमा यो 'लेन' मिच्न दिने छैनौँ।" थापाले थपे, "जनताले स्थिरता र विकासका लागि मत दिएका हुन्, तर सरकारले बहुमतको दम्भ देखाएर संसद्लाई छल्ने र अध्यादेशमार्फत शासन चलाउने कुचेष्टा गरिरहेको छ। संविधान मिच्ने छुट कसैलाई छैन।"
थापाले सरकारले सुशासनको चर्को नारा लगाए पनि व्यवहारमा भने आफ्ना निकटका भ्रष्टाचारीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए। नागरिकहरू महँगी, बेरोजगारी र सास्तीले थला पर्दा पनि सरकार केवल सस्तो लोकप्रियता (स्टन्ट) र लामा भाषणहरूमा मात्र व्यस्त रहेको उनको टिप्पणी थियो।
सरकारले राज्यका सुरक्षा संयन्त्र र प्रशासनिक निकायहरूलाई दलीय स्वार्थका लागि प्रयोग गर्न खोजेको भन्दै उनले तत्काल सच्चिन आग्रह गरे। प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारका हरेक असंवैधानिक र अराजक कदममाथि कडा निगरानी राख्ने र जनताको अधिकार रक्षाका लागि जुनसुकै कदम चाल्न तयार रहने थापाले बताए।
प्रतिक्रिया