×

सिंहदरबारको नाम फेर्ने प्रस्तावमा हरि ढकालको स्पष्टीकरण: सिंह दया र करुणाको प्रतीक होइन

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने आफ्नो अभिव्यक्तिमा दृढताका साथ अडिग रहेको स्पष्ट पारेका छन् । ललितपुरमा आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा उनले सिंहदरबारको नाम परिवर्तन गरी 'अनामनगर दरबार' राख्न सकिने धारणा राखेपछि चौतर्फी आलोचना भएपछि आइतबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिँदै उनी आफ्नो तर्कमा कायमै रहेका हुन् ।

ढकालले सिंहलाई दया वा करुणाको नभई हिंसा, घमण्ड र पुराना शासकहरूको प्रवृत्ति झल्काउने प्रतीकका रूपमा व्याख्या गरेका छन् ।सांसद ढकालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहदरबारको नाम र त्यसको ऐतिहासिक विरासतबारे गम्भीर प्रश्न उठाएका छन् ।

 "म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन  सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो ! त्यो दरबार (सिंहदरबार) बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थियौँ ।" उनले थपे, "त्यो दरबारको स्वभाव–भाव, भङ्गी नामजस्तै (हिंस्रक) देखिनुहुन्न भन्ने मेरो सन्दर्भ थियो, जुन सत्यको लिगेसीसँग जोडिएको छ ।"

नाम परिवर्तनको नजिर

विगतमा भएका ठूला राजनीतिक परिवर्तनहरूसँगै देशका धेरै पुराना ठाउँ, सडक र अन्तर्राष्ट्रिय विमानस्थलको नाम समेत फेरिएको दृष्टान्त दिँदै ढकालले सिंहदरबारको नाम पनि परिवर्तन गरेर नयाँपन दिनु स्वाभाविक हुने तर्क गरे । नेपालमा सिंह नै नपाइने हुनाले पनि यो नामको सान्दर्भिकता नरहेको उनको भनाइ थियो ।

आफूले बोलेको पूरा भिडियो र सन्दर्भ नहेरी सामाजिक सञ्जालमा केवल आलोचनाका लागि आलोचना भइरहेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । यद्यपि, कार्यक्रममा सहभागी भएका र आफ्नो पूरा कुरा सुन्नेहरू भने आफ्नो विचारबाट दङ्ग रहेको दाबी उनले गरे ।


 

आइतबार​ २४ साउन २०८३ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया