×

रास्वपालाई गृहमन्त्री लेखकको प्रश्न- नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने?

images

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाए।

उनले भने, ‘भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेका छन्। त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ, अनुसन्धान भइरहेको छ। सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको छ।’

उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए। ‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जान्छ र त्यसपछि सार्वजनिक हुन्छ। त्यसैले म माननीय सदस्य साथीहरुलाई आग्रह गर्न चाहन्छु, को को जानुभयो? को फर्किनुभयो ? स्पष्ट जानकारी दिए सरकारलाई सजिलो हुन्थ्यो,’ मन्त्री लेखकले भने।

गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे। ‘कल्पनामा, अनुमानमा, असत्यका पुलिन्दा बाँधेर कहिँ पुगिँदैन,’ उनले चेतावनी दिए। भिजिट भिसा दुरुपयोग र स्पेन भ्रमणसम्बन्धी विषय संसदमा पछिल्लो समय विवादको रुपमा उठिरहेको छ। 

साथै बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन् । आफूले लामिछाने भिजिटरको रुपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् ।

‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

लगत्तै, उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? भन्दै प्रश्न पनि गरे ।

‘अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने?,’ गृहमन्त्री लेखकले प्रश्न गरेका छन् ।

यस्तै गृहमन्त्री लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका–२ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्। मंगलबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्‍मा घटनामा हालसम्म नेपाल प्रहरीका दुई जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए। मन्त्री लेखकले बेपत्ताको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए।

‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा पहिचान नखुलेको दुई पुरुषको शव फेला परेको छ। रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ। नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुल स्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ,’ उनले भने, ‘धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको छ। भरतपुर नगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशुली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ।’

मन्त्री लेखकले हालसम्म हवाई उद्धारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए। ‘नुवाकोट बिदुर नगरपालिकाको इन्द्रेणीघाटमा किस्पाङ–४ घर भई हाल बिदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ एकाबिहानै दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठूलो बाढी आई खोलाको बीचमा फसेको अवस्था थियो,’ उनले भने, ‘हाम्रा सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक निज दम्पत्तीलाई हवाई उद्धारमार्फत् सुरक्षित स्थानमा पुर्‍याउन सफल भएका छन्।’

संकटमा फसेका दुई जनाको जीवन उद्धार मात्र हैन विपद्‍मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनको भनाई थियो। त्यसैगरी, स्थलगत उद्धारमार्फत् रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ। सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष एक जना, नेपाली पुरुष १५ जना र नेपाली महिला दुई जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो।

नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ। ‘मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ। सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ,’ मन्त्री लेखकले भने, ‘रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भईरहेको छ।’

अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाई छ। ‘मन्त्रालय अन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशिल गराएको थिएँ,’ लेखकले भने, ‘घटनापश्चात तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोष्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशिल रहेको थियो।’

मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका बताए। ‘उक्त स्थलगत अवलोकनपश्चात सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्धार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएका थिए,’ उनले भने।

परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरुको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्णरूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको उनको भनाई छ।

‘उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानूनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ,’ लेखकले भने, ‘भोटेकोशी बाढीका कारण बेपत्ता र मृत्यु भएकाहरूको खोज तथा उद्धारमा अनवरत रुपमा खटिनु भएका सबै सुरक्षाकर्मी लगायत सम्पूर्ण खोज तथा उद्धारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिने निर्णय गरिएको छ।’

त्यसैगरी परिषद्को बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिए।

‘भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण भन्सार पूर्वाधार, जलविद्युत् आयोजना, निजी आवासहरू र अन्य पूर्वाधारहरूमा भएको क्षतिको विस्तृत क्षति आंकलन गर्ने कार्य यथाशिघ्र प्रारम्भ गरी सम्बन्धित निकायले यथासमयमा सम्पन्न गर्ने र अर्को परिषद् बैठकमा पेश गर्ने निर्णय समेत भएको छ,’ लेखकले भने, ‘उक्त नाका संचालन नहुँदासम्मका लागि बैकल्पिक सडक संचालनका लागि आवश्यक गृहकार्य अगाडि बढाइएको छ।’

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय–समयमा सूचना एवं जानकारी आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको भनाई छ।

‘त्यस्ता सूचना एवं जानकारीको पूर्ण परिपालना गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्न सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसमक्ष अपिल गर्न चाहन्छु,’ उनले भने, ‘विपद्को यस घडीमा जीउ धनको जोखिम न्यूनीकरण गर्ने सरकारको अभियानमा हातेमालो गर्न सबै राजनीतिक दल, संघसंस्था एवं सबै सरोकारवालामा अनुरोध गर्न चाहन्छु।’

बुधबार २५ असार २०८२ ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया