×

नेपाली कांग्रेसले अन्तर्घात गरेको आरोपमा पार्टीका पूर्वमन्त्री, महामन्त्री, र जिल्ला सभापति लाई गर्यो अनुशासनको कारबाही

images

काठमाडौं । नेपाली कांग्रेसले अन्तर्घात गरेको आरोपमा पार्टीका नेताहरुलाई अनुशासनको कारबाही गरेको छ । अनुशासनको कारबाहीमा पर्नेमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालदेखि पूर्वमन्त्री कुमार खड्कासमेत रहेका छन् ।
केन्द्रीय अनुशासन समितिको बैठकले गत २०७९ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपबाट कारबाहीको डन्डा चलाएको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२ असार ९–१७ गतेसम्म वसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक संजाल, अडियो र भिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निस्काशन र निलम्वन गर्ने निर्णय गरिएको छ,’– अनुशासन आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

कारबाहीमा पर्नेहरुमा तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं.१ का क्षेत्रीय सभापति अरविन्दकुमार रहेका छन् । उनीहरुमाथि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप छ । उनीहरुलाई केन्द्रीय अनुशासन समितिबाट स्पष्टिकरण सोधिएको चित्तबुझ्दो जवाफ नआएको र उपलब्ध प्रमाणहरुको आधारमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क), (ख), (घ) अनुसार निजहरुलाई १ वर्ष कांग्रेसको सदस्यताबाट निस्काशन गर्ने निर्णय गरको छ । धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव ६ महिनाको लागि सदस्यबाट निष्काशित भएका छन् ।

त्यस्तै, धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं.१ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं.२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली, धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं.२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीसमेत छ महिना निलम्बनमा परेका छन् ।

त्यस्तै, कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई तीन महिनाको लागि निलम्वन गर्ने निर्णयसमेत भएको छ ।

बुधबार २५ असार २०८२ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया