×

अभिनयमा फर्किंदै तीन अभिनेत्री

images

काठमाडौँ, २५ असार : केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदै हुनुहुन्छ । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । 

    पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिनुभएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गर्नुभएको छ । यसपटक उहाँले मुख्य भूमिकामा अभिनय गर्नुभएको छ । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उहाँ चलचित्रबाट टाढा रहनुभएको थियो । 

    अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदै हुनुहुन्छ, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्नु हुने अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै हुनुहुन्छ । उहाँले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भन्नुभयो, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उहाँले बताउनुभयो । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ । 

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किनुभएको छ । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भन्नुभयो । 

    अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गर्नुभएको थियो । यद्यपि उहाँ पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सक्नुभएको छैन । 

    यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गर्नुभयो तर निरन्तरता दिनुहुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ उहाँहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ । 

मङ्गलबार २५ असार २०८१ ०७:२२ AM मा प्रकाशित

प्रतिक्रिया