×

गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो- अर्थमन्त्री डा महत

images

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आगामी बजेटमा ल्याएको गाँजा खेतीको योजनाबारे स्पष्टीकरण दिएका छन्।

शुक्रबार राष्ट्रियसभाको बैठकमा सांसद्‍का प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री महतले गाँजा तान्ने हाम्रो परम्परा नै भएको दाबी गरेका छन्।

उनले विदेशीहरूको आग्रहमा साहायताको आशामा कानुन ल्याएर गाँजा खेती रोकेको बताउँदै भने, ‘अहिले उनीहरुले जम्मै खोलेर मेडिसिनल प्रपोजका लागि, रिक्रेसनका लागि भनेर ठूलो विजनेश गरिराख्या छ। आफैँले छोडिसक्यो।’

उनले भने, ‘हाम्रो गाउँ गाउँमा चार जना ओरीपरि बसेर चिलिम तान्ने त परम्परै सामान्य हो त्यो त। हाम्रो संस्कृति देखि नै चलिआएको कुरा हो। अरुले रोक भन्यो अलि अलि साहायता रोकिदिएला भनेर रोक्यौं।’

महतले विद्युतीय गाडीमा बढाइएको करको दर नघट्ने बताएका छन्। शुक्रबार बजेटमाथिको छलफलपछि राष्ट्रिय सभामा जवाफ दिँदै उनले कर नघट्ने बताएका हुन्। 

'विद्युतीय गाडीमा कर घट्दैन। यो यथावत रहला, घट‍्दैन। बरू बढ्न सक्ला,' उनले भनेका छन्। 

सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकबाट ५१ देखि १०० किलोवाटसम्मका निजी विद्युतीय सवारी साधनमा ५ प्रतिशत भन्सार शुल्क बढाएको थियो। त्यस्तै यसअघि अन्तःशुल्क नगाल्ने गरेकोमा १० प्रतिशत अन्तः शुल्क तोकेको छ। 

विद्युतीय सवारी साधनलाई राज्यले प्रोत्साहन गर्ने भएपनि अहिले प्रयोग गरिएका विद्युतीय सवारी साधन आम मानिसको प्रतिनिधित्व गर्नेले प्रयोग नगरिरहेको उनको जिकिर छ।

साथै उनले करको दर फेरबदल भएपनि अहिले विद्युतीय गाडी किन्ने तयारीमा रहेका ग्राहकहरूले सोही गाडी नै किन्ने वातावरण सुनिश्चित गरिएको बताए।

उनका अनुसार अहिले पनि विद्युतीय सवारी साधनको तुलनामा पेट्रोलियममा आधारित सवारी साधनमा लाग्ने कर बढी छ। विद्युतीय सवारी साधनको घट्दो लागतले पनि यसमा सहयोग पुग्ने उनको भनाइ छ। 

उनले यातायात क्षेत्रमा सरकार पेट्रोलियम पदार्थको आयात घटाउने र विद्युतको उपयोग बढाउने पक्षमै रहेको समेत बताए।

 

शुक्रबार​ २६ जेठ २०८० ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया