×

किसानको माग पुरा नगरे चुनावमा अवरोध गर्ने सीके राउतको चेतावनी

images

वीरगन्ज । बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।’

‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३(४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’

अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने जानकारी राउतले दिए । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताए ।

कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको राउतले आरोप लगाए । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश पोखे । किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरूको माग संघीय सरकारसँग रहेको राउतले बताए ।

बुधबार २६ माघ २०७८ ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया