×

दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता हो -महामन्त्री विश्वप्रकाश शर्मा

images


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अप्राकृतिक नै रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारमाथि लगाउँदै आएको उक्त आरोप कांग्रेस महामन्त्री शर्माले स्वीकार गरे । महामन्त्री शर्माले प्रचण्डले लगाएका अन्य आरोपमा भने प्रतिप्रश्न गरेका छन् । उनले गठबन्धन अप्राकृतिक मान्न सकिने तर असंवैधानिक भने नरहेको बताए ।

उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठीक र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेठीक हुन नसक्ने बताए । 

साथै शर्माले यथार्थमा संसद् विधायिकी कर्ममा क्षमता प्रस्तुत गर्न चुकिरहेको बताएका छन्। बैठकमा उनले सरकार फेर्न र एकपछि अर्को प्रधानमन्त्री बनाउनमा लगाएजति नै क्षमता ऐन कानुन बनाउनमा दलहरूले लगाउनुपर्ने औंल्याएका छन्।

‘संसद विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रस्तुत गर्न सकिरहेका छैनौं। एकपछि अर्को प्रधानमन्त्री बनाउन, सरकार बनाउन जतिको क्षमता दल र सांसदहरूले जसरी राखेका छौं। त्यही गतिमा विधेयकहरू पारित गर्न सकेका छैनौं,’ उनले भने।

संसद् आफ्नो प्रधान दायित्वमा चुक्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको उनको जिकिर छ। विधेयक टुंगमा नपुग्नुमा एउटाले अर्कोलाई दोष दिएर उम्कने अवस्था नरहेको शर्माले औंल्याएका छन्।

भ्रष्टाचार निवारण विधेयक, शिक्षा विधेयक, अख्तियारसम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयकलाई यसपटक टुंगोमा पुर्‍याएर संसद्को प्रधान दायित्व सबै दलले निभाउनुपर्ने उनको भनाइ छ।

आइतबार​ २७ माघ २०८१ ०८:४२ PM मा प्रकाशित

प्रतिक्रिया